European Union Election Observation Mission to Nepal 2008 European Union
Nepal
EU

आमसञ्चार अनुगमन परिचय

ईयू निर्वाचन पर्यवेक्षण मिसनले इटालीको Osservatorio di Pavia र युरोपियन इस्टिच्युट फर मिडियाले प्रयोग गरिसकेको परिमाणात्मक तथा गुणात्मक विश्लेषणको अन्तर्राष्ट्रिय मापदण्डको प्रयोग गरेर आमसञ्चार माध्यमहरूको अनुगमन गर्छ।

आमसञ्चार माध्यमको अनुगमनको कार्य सञ्चार माध्यमहरूमा उम्मेदवार र दलहरूको पहुँचको अधिकार , उनीहरूलाई उपलब्ध गराइएको स्थान तथा विद्युतीय र छापा माध्यममा पाइएको सन्तुलन लगायत निर्वाचनको प्रचारप्रसारका क्रममा आमसञ्चार माध्यमद्वारा प्रसारित वा प्रकाशित सामग्रीमा केन्द्रित हुन्छ। यस क्रममा आमसञ्चार माध्यमको आशयलाई समेत अनुगमन गरिन्छ।

नेपालमा अनुगमन एकाइमा छ जना राष्ट्रिय अनुगमनकर्ता छन् जसको व्यवस्थापनको काम आमसञ्चार विशेषज्ञले गरिरहेका छन्। उनीहरूले निर्वाचनका बारेमा प्रसारित वा प्रकाशित सामग्री बुझ्न निम्न लिखित कुरालाई विशेष ध्यान दिँदै प्रतिनिधिमूलक विद्युतीय तथा छापा माध्यमको अनुगमन गर्छन् :
• राजनीतिक दल , गठबन्धन , उम्मेदवार र अल्पसङ्‌ख्‍यक समूहहरूलाई आमसञ्चार माध्यममा दिइएको स्थान ;
• उम्मेदवारका बारेमा प्रकाशित र प्रसारित सामग्रीहरू निष्पक्ष र सन्तुलित छन् वा छैनन्
• उम्मेदवारका बारेमा प्रकाशित र प्रसारित सामग्रीहरू पूर्वाग्रहमुक्त र न्यायोचित छन् वा छैनन्
• उम्मेदवारका बारेमा प्रकाशित र प्रसारित सामग्रीहरूको आशय

विद्युतीय माध्यमका नमूनाहरू निजी तथा सरकारी रेडियो एवम् टेलिभिजन स्टेशनको राष्ट्रिय कभरेजबाट लिइन्छ। छापा माध्यमका नमूनाहरूचाहिँ बढी बिक्ने र विपक्ष एवम् सरकारका विचारहरू दुवै छाप्नेहरूबाट लिइन्छ। आमसञ्चार एकाइले निर्वाचनको अवधि भरि नै मानिसहरूले धेरै रेडियो सुन्ने र टेलिभिजन बढी हेरिने समयमा अनुगमन गर्छन्।

राजनीतिक पात्र , दल तथा उम्मेदवारलाई दिइएको समय र स्थानको अनुगमनसँगै आमसञ्चार माध्यमको भिन्न भिन्न राजनीतिक दलप्रतिको समग्र आशय बुझ्नका लागि तिनीहरूद्वारा प्रकाशित र प्रसारित सामग्रीहरूको तीन स्तर ( सकारात्मक , नकारात्मक र तटस्थ ) मा अनुगमन गरिन्छ।

आमसञ्चार अनुगमनकर्ताहरूले गुणात्मक र गुणस्तर विश्लेषणको तालिम पाएका छन्। ती अनुगमनकर्ताहरूले विद्युतीय तथा छापा माध्यमबाट नमूना सङ्‌कलन गर्छन् अनि आफ्नो निष्कर्षसहित आमसञ्चार विशेषज्ञलाई आफ्नो प्रतिवेदन दिन्छन्।ती निष्कर्षहरूको विश्लेषण पछि निर्वाचन प्रक्रियाको समग्र मूल्याङ्‌कनकै एउटा पाटोको रूपमा आमसञ्चार विशेषज्ञले आमसञ्चारको भूमिकाका सम्बन्धमा आफ्नो प्रतिवेदन दिन्छन्।

 

All rights reserved © EU EOM Nepal 2008